सुगम संगीतका स्थापित गायक हुन्– हेमन्त शर्मा । सांगीतिक क्षेत्रमा उनी स्टाइलिस गायकका रूपमा समेत चिनिन्छन् । पछिल्लो समय उनी म्युजिक भिडियो निर्देशनमा समेत सक्रिय छन् । गायन बाहेक गीत रचना तथा संगीत सिर्जनामा समेत सक्रिय गायक शर्मा आफ्ना गीतका म्युजिक भिडियो आफैंले निर्देशन गर्न थालेका छन् ।उनले निर्देशन गरेका भिडियोको संख्या नै झन्डै एक दर्जन पुग्न लागेको छ । यसबीच गायक शर्माले जीवनमै पहिलो पटक एउटा भोजपुरी गीत गाएका छन् । सांगीतिक कार्यक्रमका क्रममा भारतदेखि कतारसम्म पुग्दा उनलाई भोजपुरी गीतको अभाव खड्किएको रहेछ ।
त्यही अभाव पूरा गर्न उनले हालै ‘लभ्ली लभ्ली अँखिया तोहार…’ गाएका हुन् । नवलपरासीको त्रिवेणी पुगेर शर्माले उक्त गीतको भिडियोसमेत तयार पारेका छन् जसमा अभिनेता अनिल थापा तथा अभिनेत्री सुष्मा अधिकारीले कम्मर मर्काएका छन् । ‘भोजपुरी पनि हाम्रो आफ्नै भाषा हो, गायक शर्माको बुझाइ छ– ‘आगामी दिनमा तराईमा कन्सर्ट दिँदा कम्तीमा एउटा भोजपुरी गीत गाउनेछु ।’कुनै बेला दिवंगत निर्देशक आलोक नेम्बाङ बाहेक अन्य निर्देशकसँग भिडियो नबनाएका शर्मा अहिले स्वयं निर्देशक बन्दा नेम्बाङको शैली पछ्याएको कुरालाई सहर्ष स्विकार गर्छन् । युट्युबमा आफ्नै च्यानलसमेत सञ्चालन गरिरहेका शर्मा भन्छन्—‘प्रविधिको प्रयोग अत्यधिक बढेको अहिलेको समयमा हरेक संगीतकर्मी अलराउन्डर हुनै पर्छ ।’